Wednesday, January 2, 2013

बन्दुक, पर्खाल र गिर्वाणीका आँसु

 
 

अंग्रेजी नयाँ बर्षको एकाबिहानै सामाजिक सञ्जालको भित्तामा एउटी स्यानी बच्ची रोइरहेकी देखे । बुझ्ने रहर जाग्यो । फोटो ठूलो पारेर हेरे । कठै ! ति बच्ची गिर्वाणी रहिछिन् । स्वर्गीय राजकुमारी श्रुतीकी छोरी गिर्वाणी  ! आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी । तिनको आँसुले मेरो मन बेस्सरी अमिलो भो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रसम्बन्धी फोटो प्रर्दशनी गरेका रहेछन पूर्व शाहीचिकित्सक डा. खगेन्द्र श्रेष्ठले । त्यही प्रदर्शनी हेर्दै गिर्वाणी रोईरहेकी रहिछिन् । यतिविघ्न मन छुने र मन रुने फोटो खिच्नेलाई धेरै धन्यवाद  

 

 

गिर्वाणी र उनकी बहिनी सुरंगनाले आफ्नी आमा र हजुरबालाई राम्ररी देख्न पाएनन् । दरबार हत्याकाण्ड हुँदा दुबै साना थिए । अहिले कुरो बुझ्ने भईसके । आमा मारिएपनि उनीहरुका बा गोरख भाग्यले बाचे । नमारिएका भए यिनीहरुका हजुरबा अहिले ६८ बर्षका हुने थिए । पुस १४ गते नेपाली जनताले यिनका हजुरबालाई फेरि सम्झिए । मनमनै पूजा गरे । श्रद्धाका फूलपाती चढाए र बेस्सरी थक्थकाए । वीरेन्द्र बाचेका भए ! ज्ञानेन्द्रपारस राजा र युवराजजस्ता नभइदिएकाले छदाँखादाँको राजसंस्थै फाल्नपर्‍यो  हामीले । 

 

गिर्वाणीका हजुरबा ज्ञानी थिए । आफ्ना बाबुले लादेको नराम्रो 

ब्यवस्था यिनले निकैबर्ष धाने । पञ्चायत धान्नु हुदैनथ्यो पढेलेखेका राजाले । परम्पराबादी घेरोले उनलाई बाध्यो । उनी पनि बाधिन रुचाए । आन्दोलन चर्किएपछि २०३६ सालमा जनमतसंग्रह गराए । जालझेलका कृपाले त्यतिबेला पञ्चायत धानियो । २०४६ सालमा धानिएन । शासन सत्ताको साँचो जनताका मान्छेलाई बुझाएर खोपाको देउता बन्न यिनी राजी भए । २०४६ सालपछि नै वीरेन्द्र जनताको मनमन्दिरमा बास गरेका हुन् । पञ्चायतमा यिनलाई बमले उडाउन खोजिएको थियो । वीरे चोर, देश छोडको नाराले काठमाडौं घन्किएको थियो अरे । इतिहासका किताब पढेर थाहा पाएको हु मैले । संवैधानिक राजालाई जनताले बढी सम्मान गदौरैछन भन्ने भेउ वीरेन्द्रले बलियोसग महसुस गरे क्यार, मृत्युपर्यन्त लक्ष्मणरेखा नाघ्ने रहर गरेनन । अनि  सर्वत्र पूजिए ।

 

२०४६ सालको जनआन्दोलनपछि वीरेन्द्र खोपाको देउता त बने, तर खोपामा बन्दुक पनि साथै राखे । उनी परम सेनाधिपति थिए । सेना शाहीथियो । उनको घरको भित्तो अग्लो थियो । भित्ताका ठाउँठाउँमा बडेबडे बन्दुक बोकेका सिपाहीले पहरा दिन्थे । भित्तोमुनि हिड्ने अधिकार कसैलाई थिएन । भित्तोतिर हेर्ने अधिकार पनि कसैलाई थिएन । भित्तो हेरे आखै फुक्लिने डर । सास फेरे सासै फुक्लिने डर । डरैडरको घरभित्र बन्दुकको भर मानेर गिर्वाणीका हजुरबा बसेका थिए । जनतासग अलग्गीएर बन्दुकको आडमा अग्लो पर्खालभित्र बस्नु राजा वीरेन्द्रको भयंकर गल्ती थियो गिर्वाणी 

अग्लो पर्खालभित्र राजा वीरेन्द्रका शत्रुमात्रै थिए अरे । कोही बाउको शासन मास्योभनेर हप्काउथे अरे । कोही तेस्सै डराएर कांग्रेस -कम्युनिष्टलाई देश बुझाईसभन्थे अरे । कोही बाउले झै फेरि उपध्रो गरेर शासन खोसभन्थे अरे । हप्काउनेका कुरा उनले सुनेनने अरे । पर्खालबाहिर भने यिनका शुभचिन्तक मात्रै थिए । सप्पैले मन पराउथे । देख्न खोज्थे । हेर्न खोज्थे । सुन्न खोज्थे । छुन खोज्थे । उनी बेलाबेलामा आईदिन्थे । हासिदिन्थे । बोलीदिन्थे । राजा जनता देखेर दंग पर्थे । जनता राजा देखेर । गजबको मेल थियो राजा -जनताको । जनताको आस्थाले राजसंस्था बाचेको थियो ।

बाहिर सुखी देखिएका राजा वीरेन्द्र र उनका परिवार दरबार नामको एम्बुसभित्र गुम्सिएर बसेका थिए । जन्मजात बानी परेकाले उनी एम्बुसभित्रै रमाइरहेका थिए । एम्बुसमा रमाउनु एक्काईसौ शताब्दीका पठित राजाको ठूलो भूल थियो, नेपाली जनताका लागी ठूलो क्षति । एउटा कालो राता आयो २०५८ जेठमा । त्यो रात आत्मघाती एम्बुस पडकियो र  ३ हजारभन्दा बढी सेनाले घेरिएका राजाको परिवार नष्ट गर्‍यो  । पर्खाल अग्लो थियो । पर्खाल होचो भइदिएको भए जनता भित्र पसेर राजाको उद्धार गर्ने थिए । रानीको उद्धार गर्ने थिए । गिर्वाणीकी आमालाई पनि बचाउने थिए । देउता खोपामा थिए । खोपाका वरिपरि हतियारका खपटा थिए । हतियारका खपटा छिचोलेर आफ्ना देउतासामू नेपाली जनता पुग्नै पाएनन । 

 

गिर्वाणी , तिमी हतियारलाई घृणा गर । हतियारले तिम्री आमा खाइदियो । आमाको न्यानो काख र हजुरबाको प्यारो काधबाट तिमी र तिम्री बहिनीलाई सदाको लागी बन्चीत तुल्याइदियो । नेपाली जनताका प्यारा राजालाई खाइदियो । तिम्रा आसुँले हत्यारा र हतियारलाई बेस्सरी पोल्नेछ । तिमी ज्ञानी बन्नु । श्रुतीकी छोरी र वीरेन्द्रकी नातिनीको रुपमा नेपाली जनताले तिमीलाई सधैं माया गर्नेछन् । नानी, तिम्रो सधैं जय होस् । 

साभार :


0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites