Thursday, March 29, 2012

बिदेश, विश्वाश, बिवशता

 
 
 
ABC म निजी विद्यालयमा शिक्षिका थिएँ। श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो। हामी दुई हाम्रा दुई, सानो सुखी परिवार। काठमाडौंमा एउटा पुस्तैनी घर थियो। हाम्रो भागमा बस्नलाई तीन कोठा। हामीलाई पर्याप्त थियो। घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ हाम्रा लागि छेलोखे...लो थियो। एकदिन श्रीमान्ले के-के सुनेर आउनुभयो, अनायास नै राति इजरायलको कुरा निकाल्नुभयो। त्यो दिनदेखि त श्रीमान्ले सधैजसो इजरायलका बारेमा केही न केही नयाँ कुरा ल्याएर मलाई सुनाउन थाल्नुभयो। एकदिन मैले झर्को मान्दै भनें, हामीलाई के काम इजरायलको गफ। नजाने गाउँको बाटै नसोध्नू। किन र तिमी पनि जाऊ न इजरायल। अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ। हाम्रो कमाइ तन्किने होइन बरू म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकालौं। सधै यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको विवाह पनि त गर्नुपर्छ, सोच न। श्रीमान्ले दिनहुँ ममाथि इजरायल पठाउने दबाब बढाउन थाल्नुभयो। आखिरमा हार खाएर मैले हुन्छ भन्नुपर्‍यो। विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर श्रीमान्ले मलाई इजरायल जाने व्यवस्था मिलाइदिनुभयो। सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी अर्थात् अभिभावकको बढी आवश्यकता हुने बेलामा नाबालकहरूलाई छाडेर म इजरायल गएँ। इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित। कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासि सात समुद्रपारि पुगेकी थिएँ। मनलाई सम्झाउन निकै कठिन भैरहेको थियो। इजरायलमा काम गर्न र एडजस्ट हुन निकै कठिन भयो मलाई। नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ। नाम मात्र अंग्रेजी केयर गिभर पाएर के भयो र ? म घरकी नोकर्नी नै थिएँ त्यहाँ। सुरुसुरुमा त कति रोएँ, कराएँ नेपाल सम्भिmएर। तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ। फर्किएर फेरि के गर्ने ? श्रीमान्मा मैले पैसा कमाउने र त्यो पैसाले के-के गर्ने भन्ने योजना म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै सुरु भैसकेको थियो। मेरो तलब आएकै दिन म सबै पैसा श्रीमान्लाई पठाइदिन्थंे। मलाई खान-बस्न पैसा खर्च नहुने एकदिन पाउने बिदामा पनि त्यही घरमा काम गरिदिए अतिरिक्त आम्दानी हुने हुँदा फोन गर्न र सानोतिनो खर्च त्यही पैसाले पुगिहाल्थ्यो। मेरो महिना सुरु हुन नपाउँदै श्रीमान्को लिस्ट आइहाल्थ्यो। म कहिलेकाहीँ भन्थें-जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी छु, त्यो पहिले पूरा गरौं। यसरी फाल्तु खर्च किन गर्ने ? तिमी तीन-चार वर्ष बसिहाल्छ्यौ, त्यहाँ पैसा भैहाल्छ, हाम्रा योजनाहरू पूरा गर्न। मैले अब पैसा पठाउँदा श्रीमान्लाई भन्न थालिसकेकी थिएँ पैसा बचत गर्नू ल भनेर। एकदिन श्रीमान्ले फोनमार्फत भन्नुभयो-साथीहरूले मिलेर एउटा १० + २ सम्म पढाइ हुने स्कुल चलाउन हामीलाई पनि पैसा हाल्न भनेका छन्। तिमीले त्यहाँ ऋण गरेर भए पनि १० लाख पठाइदेऊ न। स्कुलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भैहाल्छ। कुरा राम्रै लाग्यो, साथीहरूसित ऋण लिएर मैले श्रीमान्लाई ८ लाख पठाइदिएँ। मैले उता ओभरटाइम पनि गरेर साथीहरूको पैसा तिर्दै थिएँ। यता श्रीमान्को भनाइअनुसार स्कुल राम्रैसित चलिरहेको थियो। मलाई साथीहरूको ऋण तिर्न १० महिना लाग्यो। ११ महिनाको तलब थापेकी पनि थिइन, श्रीमान्को फर्माइस फेरि स्कुलमा क्यान्टिनमा पनि आफैंले लगानी गरियो भने त अझ बढी आम्दानी हुन्छ, फेरि मलाई एकमुुष्ट पैसा पठाइदेऊ। सबैभन्दा नजिकको सम्बन्ध श्रीमान्-श्रीमती कसरी शंका गर्ने ? फेरि ऋण गरेर ६ लाख पठाइ दिएँ। फोनबाट कुरा गर्दा छोराछोरी एवं सासू-ससुरा सबै खुसी भएको मैले महसुस गरेकी थिएँ। स्कुल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ। जे होस् अब नेपाल फर्किएपछि त आफ्नै स्कुल। फागुपूणिर्माका दिन छोराले फोनमा रुँदै भन्यो, मामु, बुबाले बर्बाद गर्नुभयो । के भयो, किन रोएको, के गर्नुभयो बुबाले ? फोनमा छोरीको फेरि आवाज आयो। मामु बुबाले त अर्की विवाह गर्नुभएको रहेछ। आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो। हजुरबुबा-हजुरआमालाई हजुरहरूको नाति भनेर चिनाउनुभयो। हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो। हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले भन्नुभयो-विवाह गरेको नै दुई वर्ष भै सकेको रे। मामुलाई थाहा नहोस् भनेर नै हजुरलाई बुबाले इजरायल पठाउनुभएको रे। म छाँगाबाट खसेझैं भएँ। विगतका दिनहरू सबै नाच्न थाले आँखाअगाडि। ओहो, आज आएर सम्झदैछु। त्यो समयमा तिमीमा एकाएक आएको परिवर्तन नियाल्दै छु। कसरी मलाई इजरायल पठायौ। कसरी मसितबाट सबै पैसा लियौ। मैले सासूसित कुरा गरें, सासूले पनि हो भन्नुभयो। श्रीमान्लाई फोन गरंे, फोन बन्द। म विदेशमा चिन्तित, फोन गर्न खोज्छु श्रीमान्को फोन अफ छ। छोराछोरी रोएका रोयै छन्। चार दिनपछि राति श्रीमान्को फोन उठ्यो तर महिलाले फोन उठाइन्। मैले तपाईं को भनेर सोधें, उनले भनिन् म दिनेशकी श्रीमती। मैले दिनेशकी श्रीमती त म पो हुँ, तिमी को हौ दिनेश खोइ ? भन्नासाथ फोन काटिदिइन्। घरमा छोराछोरी मात्र थिए। सासू-ससुरासित पहिल्यै छुट्टइिसकेकाले केटाकेटी आफै पकाएर खान्थे। म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइन। ऋण भएकाले नेपाल आएर पनि के गर्ने ? माइतीमा फोन गरेर भाइसँग रोएँ। भाइलाई स्कुलमा लगानी के कति छ बुझ भनेपछि उसले के कसरी बुझ्यो ? मैले पठाएको पैसा स्कुलमा लगानी भएको त रहेछ तर सेयर होल्डरमा त कान्छी श्रीमतीको नाम रहिछ। क्यान्टिन पनि उसैले चलाएकी थिई। एउटा डान्स रेस्टुराँमा नाच्ने केटी ल्याएको रहेछ। मेरो पैसाले कान्छीको नाममा सेयर किनिदिएछ अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको। जे होस्, म र छोराछोरी बर्बाद भएका थियौं। छोराछोरीलाई सम्झाएँ। पढाइमा मन लगाऊ भनेर तर उनीहरूको पढाइ के भयो होला ? मैले जतिसक्दो चाँडो ऋण तिरेर नेपाल र्फकने कुरा भाइलाई सुनाएँ। भाइले भन्यो, दिदी, हामी भान्जाभान्जीलाई ल्याएर राख्छौं, तिमी भोलिको दिनलाई पनि केही आफ्नो व्यवस्था गरेर मात्र र्फक। दिन बित्दै गए। ऋण पनि तिरियो म घर र्फकन्छु भन्दै थिएँ। छोराले फोनमा भन्यो-तिमीहरू मामा घरमा गएर बस म र सानीआमा यहाँ बस्छौ भनेर बुवाले भन्नुभयो, हामीले मानेनौं। अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन। मैले छोराछोरीलाई मामाघर पनि नजाओ कोठा पनि नछोड भनें। यसबीच मलाई छोरीले एस. एल. सी. उत्तीर्ण गरिन्। छोरो कुलतमा लाग्छ कि भन्ने चिन्ता थियो। मेरो त सब बर्बाद भैसकेको थियो। विवाहको रातदेखि अहिलेसम्म श्रीमान्ले मसित गरेको माया, सरसल्लाह, भावी योजना सबै सिनेमाका रिलझैं मेरासामु नाचिरहेका थिए। म इजरायल आएको चार वर्ष भयो। छोराछोरी दुवै कलेज पढ्दैछन्। घरमा बाबु र सानीआमालाई आउन दिएनन्। छोरीको फोन आयो, उनले विवाह गर्ने रे। आफूसँगै पढ्ने पोखरा घर भएको केटासित। मामु आएर मेरो विवाह गरिदिनू । म दसंैमा घर आएँ, नवमीको दिन छोरीको विवाह गरिदिएँ। बाबु आए। कान्छी श्रीमतीलाई त ल्याएका थिएनन् तर छोरो साथै थियो। हाम्रो बोलचाल पनि भएन। छोरी घर गई, छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ। भोलि उसको पनि विवाह होला। त्यसपछि मेरो साथमा को त ? छोराछोरी श्रीमान् सब पर। एक मन भन्छ, समयअनुसार चल्नैपर्ने मान्छेको नियति हो, जब मान्छेले सत्यबोध गर्छ उसलाई कुनै कुराले दुखाउँदैन, मलाई पनि त्यस्तै भैरहेको छ। जिन्दगी एकपल्ट मिल्छ एउटा असल व्यक्तिसित विवाह गरूँ कि ? जब श्रीमान्को जरुरत बढी पर्छ त्यतिबेला मलाई श्रीमान्ले धोका दिएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ? तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोस्रो विवाह सजिलै गर्छन् तर म कसलाई भनूँ, मसित विवाह गर्छौ भनेर ? के भन्ने सासूलाई नयाँ श्रीमान् चाहियो ? मलाई धोका दिने श्रीमान्लाई देखाउन भए पनि म अर्को विवाह गर्न चाहन्छु। तर कोसित ...। लेखिका : सरिता अर्याल साभार : नारी

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites